"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

Wednesday, January 21, 2015

के हो स्वस्थानी व्रत र कथा ?

अहिले नेपाली सनातन समाजमा स्वस्थानी व्रत चलिरहेको छ । यो हिन्दू नेपाली समाजको मौलिक व्रत पनि हो । भारतीय हिन्दूहरूमा स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने प्रचलन छैन । यो व्रत पहिलेपहिले नेपाली नेवारी समाजमा मात्र लिइने चलन थियो । व्यापारिक सिलसिलामा उनीहरू देशका कुनाकन्दरा पुग्ने क्रम बढे पनि सनातन समाजले पनि यसलाई आत्मसात् गर्यो । नेवार र सनातन धर्म अँगाल्नेहरूको बाहुल्य भएका भारतको दार्जिलिङ, सिक्किम र भुटानमा समेत स्वस्थानी व्रत लिने र कथा सुन्ने गरिन्छ ।
वैदिक धर्म मूल रूपमा’ (शिवराज आचार्य कौण्डिन्न्यायन, दो.सं. २०६२ स्वाद्ध्यायशाला) पुस्तकका अनुसार स्वस्थानी कथाको पुरानो रूप ५०० वर्षजति अघि नेवारी भाषामै रहेको पाइन्छ । लगभग त्यति नै वर्षयता नेपाली भाषामा पनि अनुदित भई व्रत बस्ने र कथा सुन्ने परम्पराको विकास भयो । अहिले पनि साँखुलगायतका स्थानमा नेवारी भाषाको स्वस्थानी व्रतकथा पाइन्छ । अहिले चलेको चलनअनुसार चान्द्रमानको पात्रोअनुसार पौष शुक्ल पूर्णिमामा सुरु भएर माघ शुक्ल पूर्णिमामा अन्त्य हुन्छ । विधिपूर्वक व्रत बस्ने र मध्याह्न कालमा महादेव र श्री स्वस्थानीको पूजा गर्ने कथा भन्नेसुन्ने परम्परा चलिरहेकै छ ।

को हुन् स्वस्थानी ?
स्वस्थानी माहत्म्य भए पनि कथामा देवीको उत्पत्तिबारे खुलाइएको छैन । कथाका एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवीको हुन् भन्ने खुल्दैन । पार्वतीले अनेक प्रयास गर्दा पनि महादेव पति नपाएपछि भगवान् विष्णुले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ने सल्लाह दिन्छन् । त्यसैबेला यस्तो प्रसंग आउँछअष्टासु च दलेष्वेव मातृकाष्टस्थितास्तथा÷खड्गं त्रिशूलं चोध्र्वञ्च अधश्चाभय मुत्पलम्÷चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कार भूषिता÷सुवर्णवद्धिकासाभा स्वस्थानी जगदीश्वरी ।। अष्टमातृका (चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी) बीचमा तीन नेत्र, चार हात भएकी, विभिन्न वस्त्रालङ्कारले विभूषित भई त्रिशूल, तरबार, कमल र चक्र लिएर विराजमान भएकी सुवर्णको आभायुक्त स्वस्थानी देवीको स्वरूप छ ।

स्वस्थानी र शिवजी

नेपाली समाजमा शताब्दियौंदेखि अत्यधिक श्रद्धापूर्वक व्रत, पूजा र पाठ गर्दै आएको स्वस्थानी व्रतकथाको पुस्तक सर्वप्रथम कहिले र कसले लेख्यो भन्ने कुरा अहिलेसम्म पनि कसैले ठोकुवा गरेर भन्नसकेको पाइएको छैन । नेवारी भाषामा लेखिएको भनिएको स्वस्थानी कथा पक्कै पनि कुनै नेवारले नै लेखेको हुनुपर्छ । त्यसो हो भने नेवारले किन बाहुनको मात्र कथा लेख्यो ? किन कतै नेवार समाजको कथा लेखिएन, स्वस्थानीमा ? यो प्रश्न पनि सोचनीय देखिन्छ । जे होस्, नेवारले जे देख्यो, त्यही लेख्यो । तत्कालीन समयमा बाहुन समाजमा हिन्दु धर्म र परम्पराको नाममा महिलामाथि हुने ज्यादती, पतिव्रताका नाममा बाहुन महिलाले सहनुपरेका दुःख, बालविवाह, एकल महिलाले खेप्नुपरेका समस्या, धर्मको नाममा महिलालाई दिइने प्रताडनालाई स्वस्थानी कथासँग जोडिदिएको हुनसक्छ । जे होस्, यी प्रसंगलाई छोडेर स्वस्थानीकै ऐतिहासिक प्रसंगतिर जानु सान्दर्भिक छ ।
आफ्नी प्राणप्यारी पत्नी सतीदेवीको मृत्युपछि शिव यति धेरै शोकाकुल बन्छन् कि उनलेे सतीदेवीको मृत शरीर बोकेर संसार भ्रमण गर्दै हिँड्दा सतीको देह सडेर अङ्ग-अङ्गहरू विभिन्न ठाउँमा झर्दै जान्छन् र ती ठाउँहरूमा शक्तिपीठहरूको उत्पत्ति हुँदै जान्छ । सतीको अङ्गबाट एकाउन्न शक्तिपीठहरूको उत्पत्ति हुने क्रममा हामीले पढ्दै आएको स्वस्थानी कथामा यस्तो लेखिएको छ, 'पहिले नेपालमा पुग्दा गुह्यपतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी....उत्पत्ति भए ।' यस बाहेक स्वस्थानीमा नेपाल शब्दको उल्लेख पाइँदैन । बाँकी सबै पीठहरू भारतमा रहेको कुरा स्वस्थानी पढ्दा थाहा लाग्छ । तर के यो नै साँचो हो त ? सतीको पहिलो अङ्ग नेपालमा खसेपछि अरू सब भारतमा कसरी ? के नेपालका शक्तिपीठहरू अतिक्रमित भएकै हुन् त ?

Tuesday, January 20, 2015

गज़ल - मर्‍यो भनिदिनु

बिष्णुहरि भण्डारी
थानसिङनुवाकोट
मेरो बारे उनले सोधे मर्‍यो भनिदिनु ।
मर्ने बेला तिम्रो खोजी गर्‍यो भनिदिनु ॥
खुसी हुनु जीवनमा नरोई बस्नु अब,
धर्तीबाट अन्तै बसाई सर्‍यो भनिदिनु ॥
तिम्रो बाधा अड्चन सबै पन्छियो नि अब,
उनको लागि ठूलो खड्को टर्‍यो भनिदिनु ॥
बोझ अब हुन्न उनलाई एकछत्र राज,
उनको लागि ठूलै चिठ्ठा पर्‍यो भनिदिनु ॥
सम्झिएर आफन्तले बिष्णु खै त भन्लान् ,
उनकै यादमा कुहियर झर्‍यो भनिदिनु ॥

From : Virginia USA, 26 February 2014

नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षीय बिष्णुहरि भण्डारी २०७१ माघ १ गते आफ्नै डेरामा मृत भेटिएका थिए
हार्दिक श्रद्धाञ्जली ॥