"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

Saturday, July 18, 2015

देवघाट धाम परिचय - भजन


(१)
समय : ४:३८ मिनेट
आकार : ४.२५ एमबी/१२८ केबीपीएस

(२)
समय : १३:१२ मिनेट
आकार : ८.८९ एमबी/९४ केबीपीएस

(३)
समय : २०:२३ मिनेट

आकार : १८.६७ एमबी/१२८ केबीपीएस

Thursday, June 25, 2015

हिन्दु जागरण इन्टरनेट रेडियो


हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको अभियानको रूपमा स्थापित धार्मिक संस्था "हिन्दु जागरण नेपाल"को नेपाली धार्मिक रेडियो सुन्नुहोस् !
यदि माथिको विन्डोज मिडिया प्लेयरबाट प्ले भएन भने यो प्लेयरबाट सुन्नुहोस् !


यदि तपाईंलाई एकै ठाऊँमा सबै भक्ति रेडियो छानि-छानि सुन्ने इच्छा छ भने

Wednesday, April 29, 2015

धरहरा - भीमसेनको ट्वीन टावर

यो १८८० अघि तिरको फोटो हो । १९९० को भूकम्पमा यो दरबार (गार्डन दरबार, प्रवेशद्वारमा बाघ राखिएकोले बाघदरबार) क्षतिग्रस्त भएपछि १९९७ मा यसको ठाउँमा नयाँ हरि भवन खडा गरिएको थियो ।
पढ्नुहोस्, हेर्नुहोस् धरहराको इतिहास, जो नेपालको ट्वीन टावरको रूपमा भीमसेन थापाले वि. सं. १८८१ र ८२ मा दुईवटा मिनार बनाएका थिए जुन ११/११ तलाका थिए । पहिलो मिनार १८८१ मा अहिलेको धरहराको दक्षिणपश्चिमपट्टि रहेको आफ्नो भीमसेन निवास (जनरलवाग/वागदरबार) परिसरमा मुगल शैलीमा निर्माण गराएका थिए र  रानी ललितत्रिपुरासुन्दरीले पनि त्यस्तै मिनारको इच्छा गरेपछि भीमसेनले १८८२ मा बनाइदिएको दोस्रो मिनार चाहिं अहिलेको धरहरा हो। यो नेपालको राजधानी काठमाडौंको सुन्धारामा अवस्थित छ । भीमसेन थापाले बनाएको स्तम्भ भएको कारणले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ ।
१९७७ ताकाको फोटोमा धरहरा र भीमसेन निवास
९ वर्षपछि वि.सं. १८९० सालमा आएको भूकम्पले पहिलो मिनार क्षतिग्रस्त भएर ७ तला बाँकी रह्यो । तर त्यो मिनार भूकम्पपछि भीमसेन थापाको आत्महत्या लगत्तै पुनर्निर्माण नभएर इतिहासको अँध्यारोमा हरायो। भग्नावशेषको रूपमा रहेको उक्त पहिलो मिनारलाई त्यसको १०० वर्षपछि १९९० सालमा आएको महाभूकम्पले पुनः पूर्ण रूपमा भत्काइदियो र दोस्रो मिनार जुन अहिले हामीले देखेका छौं धरहराको रूपमा; त्यो पनि क्षतिग्रस्त भएर जम्मा ५ तला जति बाँकी रह्यो । पछि वि.सं. १९९२ सालमा तात्कालिन राणा प्रधानमन्त्री जुद्धसमशेरले ९ तलामा सिमित गरी बरण्डा निकालेर पुनर्निर्माण गराए । तर रंगरोगन भने २००२ सालमा गरिएको थियो । २०५५ सालपछि पुनः यसको मर्मत सम्भार हुँदै गयो र अहिलेको सुन्दर सफा धरहरा बन्न पुग्यो । बिना फलाम र काठको भरमा अडिएको यो धरहरा फेरी वि.सं. २०७२ सालको महाभूकम्पमा परी पूर्ण रूपमा विलिन भएको छ । धरहराको निर्माण ईटा र बज्र अर्थात् सुर्की, चून, मास र चाकुको मिश्रणबाट भएको थियो ।

यसरी वि.सं. १८८१ सालदेखि नेपालको इतिहासमा भीमसेनको ट्वीन टावरले १९९० सालको भूकम्पसम्ममा येनकेन आफ्नो अस्तित्व बचायो र भूकम्पपछि एउटा पूर्ण ध्वस्त भयो र अर्को भग्नावशेषको रूपमा १९९२ सम्म रह्यो । त्यसपछि पुनर्निर्माणसँगै हालसम्म पनि देश तथा विदेशका नागरिकहरुलाई नेपालको इतिहास दर्शाउन र नेपालमा आउन प्रेरित गर्ने राष्ट्रिय सम्पदा धरहरा २०७२ सालको विनाशकारी भूकम्पमा परि धराशायी भएको छ । अन्ततः १९१ वर्षको लामो इतिहासको अन्त्य भएको छ ।

Wednesday, April 15, 2015

मोबाइलमय जमानामा मोबाइलमै पात्रो

अहिलेको जमाना मोबाइलमय भएको छ । सूचना प्रविधिका समाचार र सुविधाहरु लगाएतका जे कुरा पनि अचेल मोबाइलमा नै पाइन र प्रयोग हुन थालेको छ । अझ भनौं विश्व नै अटाएको छ । त्यसै क्रममा ज्योतिषीय समय र मितिको उपयुक्त जानकारी प्राप्त गर्न गराउन नेपालको लागि स्मार्टफोनको एप्लिकेसन बजारमा अहिले एउटा नयाँ एप थपिएको छ; त्यो हो तोयनाथ पात्रो । एप बजारमा नेपाली तिथि मितिको केहि पात्रोहरु पहिल्यै पनि उपलब्ध छन् । जस्तै :- नेपाली पात्रो र हाम्रो पात्रो !
यी एप्लिकेसनले विश्वको जुनसुकै कुनामा बसेर पनि तपाईंहरु नेपाली तिथि-मिति, महत्वपूर्ण चाडपर्व, विवाह, ब्रतबन्ध उत्सव तथा शुभ साइत आदिकाबारेमा जानकारी लिन सक्नुहुनेछ । आउनुहोस् म तपाईंहरुलाई नेपाली पात्रो सम्बन्धीका मुख्य एप्लिकेसनको जानकारी र लिंकहरु सेयर गर्दैछु ।

Sunday, February 1, 2015

के हो हिन्दु पञ्चाङ्ग (पात्रो) ?


हरेक ठाउँमा आ-आफ्नो निश्चित स्थानलाई आधार मानेर गणना पद्धति अनुसार महिना या दिन निर्धारण गरिएको हुन्छ । संसारमा मान्ने गरिएको अंग्रेजी क्यालेण्डर सौर्य गणनाको आधारमा निकालिएका हो । तर हिन्दु पञ्चाङ्ग (पात्रो) भने सुर्य संगसँगै चन्द्र र नक्षत्रको आधारमा गणना गरि बनाइएको हो । हिन्दु पात्रो काल गणनाको पाँच रीतिअनुसार बनेको हुनाले पञ्चाङ्ग भनिन्छ । के हो त पञ्चाङ्ग ? यसबारे दुईवटा श्लोक यस्तो छ :-
तिथिर्वारश्च नक्षत्रं योगः कारणमेव च । एतैः पञ्चभिरङ्गै संयुतं पञ्चाङ्गमुच्यते ॥”
वा
तिथिर्वासरनक्षत्रे योगः करणमेव च इति पञ्चाङ्गमाख्यातं व्रतपर्वनिदर्शकम् ॥”
अर्थात् तिथि, बार, नक्षत्र, योग र करण  यीनै पाँच अङ्गको सिलसिलाबद्ध प्रस्तुतिको सम्पूर्ण स्वरूपलाई पञ्चाङ्ग अर्थात् नेपाली जनबोलीमा पात्रो भनिन्छ । पञ्चाङ्गको मुख्य उद्देश्य विविध धर्म संस्कृतिको रिती-रिवाज अनुसार मनाउनुपर्ने चाडबाडमा व्रत, पर्व, उत्सवको जानकारी गराउनु हो ।

Wednesday, January 21, 2015

के हो स्वस्थानी व्रत र कथा ?

अहिले नेपाली सनातन समाजमा स्वस्थानी व्रत चलिरहेको छ । यो हिन्दू नेपाली समाजको मौलिक व्रत पनि हो । भारतीय हिन्दूहरूमा स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने प्रचलन छैन । यो व्रत पहिलेपहिले नेपाली नेवारी समाजमा मात्र लिइने चलन थियो । व्यापारिक सिलसिलामा उनीहरू देशका कुनाकन्दरा पुग्ने क्रम बढे पनि सनातन समाजले पनि यसलाई आत्मसात् गर्यो । नेवार र सनातन धर्म अँगाल्नेहरूको बाहुल्य भएका भारतको दार्जिलिङ, सिक्किम र भुटानमा समेत स्वस्थानी व्रत लिने र कथा सुन्ने गरिन्छ ।
वैदिक धर्म मूल रूपमा’ (शिवराज आचार्य कौण्डिन्न्यायन, दो.सं. २०६२ स्वाद्ध्यायशाला) पुस्तकका अनुसार स्वस्थानी कथाको पुरानो रूप ५०० वर्षजति अघि नेवारी भाषामै रहेको पाइन्छ । लगभग त्यति नै वर्षयता नेपाली भाषामा पनि अनुदित भई व्रत बस्ने र कथा सुन्ने परम्पराको विकास भयो । अहिले पनि साँखुलगायतका स्थानमा नेवारी भाषाको स्वस्थानी व्रतकथा पाइन्छ । अहिले चलेको चलनअनुसार चान्द्रमानको पात्रोअनुसार पौष शुक्ल पूर्णिमामा सुरु भएर माघ शुक्ल पूर्णिमामा अन्त्य हुन्छ । विधिपूर्वक व्रत बस्ने र मध्याह्न कालमा महादेव र श्री स्वस्थानीको पूजा गर्ने कथा भन्नेसुन्ने परम्परा चलिरहेकै छ ।

को हुन् स्वस्थानी ?
स्वस्थानी माहत्म्य भए पनि कथामा देवीको उत्पत्तिबारे खुलाइएको छैन । कथाका एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवीको हुन् भन्ने खुल्दैन । पार्वतीले अनेक प्रयास गर्दा पनि महादेव पति नपाएपछि भगवान् विष्णुले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ने सल्लाह दिन्छन् । त्यसैबेला यस्तो प्रसंग आउँछअष्टासु च दलेष्वेव मातृकाष्टस्थितास्तथा÷खड्गं त्रिशूलं चोध्र्वञ्च अधश्चाभय मुत्पलम्÷चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कार भूषिता÷सुवर्णवद्धिकासाभा स्वस्थानी जगदीश्वरी ।। अष्टमातृका (चामुण्डा, महाकाली, वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, वाराही र इन्द्राणी) बीचमा तीन नेत्र, चार हात भएकी, विभिन्न वस्त्रालङ्कारले विभूषित भई त्रिशूल, तरबार, कमल र चक्र लिएर विराजमान भएकी सुवर्णको आभायुक्त स्वस्थानी देवीको स्वरूप छ ।

स्वस्थानी र शिवजी

नेपाली समाजमा शताब्दियौंदेखि अत्यधिक श्रद्धापूर्वक व्रत, पूजा र पाठ गर्दै आएको स्वस्थानी व्रतकथाको पुस्तक सर्वप्रथम कहिले र कसले लेख्यो भन्ने कुरा अहिलेसम्म पनि कसैले ठोकुवा गरेर भन्नसकेको पाइएको छैन । नेवारी भाषामा लेखिएको भनिएको स्वस्थानी कथा पक्कै पनि कुनै नेवारले नै लेखेको हुनुपर्छ । त्यसो हो भने नेवारले किन बाहुनको मात्र कथा लेख्यो ? किन कतै नेवार समाजको कथा लेखिएन, स्वस्थानीमा ? यो प्रश्न पनि सोचनीय देखिन्छ । जे होस्, नेवारले जे देख्यो, त्यही लेख्यो । तत्कालीन समयमा बाहुन समाजमा हिन्दु धर्म र परम्पराको नाममा महिलामाथि हुने ज्यादती, पतिव्रताका नाममा बाहुन महिलाले सहनुपरेका दुःख, बालविवाह, एकल महिलाले खेप्नुपरेका समस्या, धर्मको नाममा महिलालाई दिइने प्रताडनालाई स्वस्थानी कथासँग जोडिदिएको हुनसक्छ । जे होस्, यी प्रसंगलाई छोडेर स्वस्थानीकै ऐतिहासिक प्रसंगतिर जानु सान्दर्भिक छ ।
आफ्नी प्राणप्यारी पत्नी सतीदेवीको मृत्युपछि शिव यति धेरै शोकाकुल बन्छन् कि उनलेे सतीदेवीको मृत शरीर बोकेर संसार भ्रमण गर्दै हिँड्दा सतीको देह सडेर अङ्ग-अङ्गहरू विभिन्न ठाउँमा झर्दै जान्छन् र ती ठाउँहरूमा शक्तिपीठहरूको उत्पत्ति हुँदै जान्छ । सतीको अङ्गबाट एकाउन्न शक्तिपीठहरूको उत्पत्ति हुने क्रममा हामीले पढ्दै आएको स्वस्थानी कथामा यस्तो लेखिएको छ, 'पहिले नेपालमा पुग्दा गुह्यपतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी....उत्पत्ति भए ।' यस बाहेक स्वस्थानीमा नेपाल शब्दको उल्लेख पाइँदैन । बाँकी सबै पीठहरू भारतमा रहेको कुरा स्वस्थानी पढ्दा थाहा लाग्छ । तर के यो नै साँचो हो त ? सतीको पहिलो अङ्ग नेपालमा खसेपछि अरू सब भारतमा कसरी ? के नेपालका शक्तिपीठहरू अतिक्रमित भएकै हुन् त ?

Tuesday, January 20, 2015

गज़ल - मर्‍यो भनिदिनु

बिष्णुहरि भण्डारी
थानसिङनुवाकोट
मेरो बारे उनले सोधे मर्‍यो भनिदिनु ।
मर्ने बेला तिम्रो खोजी गर्‍यो भनिदिनु ॥
खुसी हुनु जीवनमा नरोई बस्नु अब,
धर्तीबाट अन्तै बसाई सर्‍यो भनिदिनु ॥
तिम्रो बाधा अड्चन सबै पन्छियो नि अब,
उनको लागि ठूलो खड्को टर्‍यो भनिदिनु ॥
बोझ अब हुन्न उनलाई एकछत्र राज,
उनको लागि ठूलै चिठ्ठा पर्‍यो भनिदिनु ॥
सम्झिएर आफन्तले बिष्णु खै त भन्लान् ,
उनकै यादमा कुहियर झर्‍यो भनिदिनु ॥

From : Virginia USA, 26 February 2014

नेपाल नुवाकोट घर भै अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने ३४ बर्षीय बिष्णुहरि भण्डारी २०७१ माघ १ गते आफ्नै डेरामा मृत भेटिएका थिए
हार्दिक श्रद्धाञ्जली ॥