"विचार बिग्रिए मन बिग्रन्छ, मन बिग्रिए मानव । मानव बिग्रिए मानवता जान्छ, उत्पन्न हुन्छ दानव ॥" त्यसैले सङ्गत र विचार सफा राखौं किनकि "साफ़ मनको साफ़ कुरा, साफ़ आनीबानी । साफ़ हुन्छ सबमा नज़र, साफ़ जिन्दगानी ॥" »»» आर्यकेश'व शरण «««

Monday, September 18, 2017

आकाशवाणी प्रस्तुती 'रामचरितमानस'

  
१) बालकाण्ड (981 MB)
२) अयोध्याकाण्ड (583 MB)
३) अरण्यकाण्ड (111 MB)
४) किष्किन्धाकाण्ड (61 MB)
५) सुन्दरकाण्ड (107 MB)
६) लंकाकाण्ड (408 MB)
७) उत्तरकाण्ड (376 MB)
       अल इण्डिया रेडियोबाट हरेक बिहान ७ बजे करिब १० मिनेट जति प्रसारण हुने श्रीरामचरितमानसको रचना सन्त श्रीतुलसीदासले गर्नुभएको हो ! सनातन हिन्दु संस्कृतिमा मात्र नभै भारतीय हिन्दी साहित्यमा पनि महाकाव्यको रुपमा यसले प्रसिद्धि  कमाएको छ ! तुलसीदासकृत यो महाकाव्यलाई भेट्टाउने अर्को महाकाव्य हिन्दी साहित्यमा अर्को कुनै छैन भनेपनि फरक पर्दैन ! अल इण्डिया रेडियोले झन् यसग्रन्थलाई संगीतमय आवाज दिएर अमृतमय, आह्लादमय एवं  दिव्य बनाइदिएको छ ! यसलाई गायनद्वारा जनमनमा पुर्याउनको लागि सन् १९८० देखि १९९२ सम्म भारतको भोपाल राज्यमा रहेको आकाशवाणी केन्द्रमा काम भएको थियो ! जसको लागि पण्डित जसराज, मन्ना डे, अनूप जलोटा, सुरेश वाडकर, महेन्द्र कपूर, वाणी जयराम, लता मंगेशकर, उषा मंगेशकर, आशा भोस्ले, लक्ष्मी शंकर, रविन्द्र साठे, जगजीत सिंह, अनुराधा पौडवाल, कविता कृष्णमूर्ति, हरिहरन, भूपेन्द्र सिंह, राजन एवं साजन मिश्रा जस्ता करिब ३० भन्दा बढी मुख्य गायककलाकारहरुले लगभग ६२ घण्टासम्म आफ्नो सुमधूर आवाज रेकर्ड गरेका थिए ! यसरी सुन्दै सच्चिदानन्द अनुभूत गराइदिने प्रस्तुत डिजिटल रामायणलाई तयार गर्न १२ वर्ष लागेको थियो ! अल इण्डिया रेडियोले यसलाई ७ वटा अडियो सिडी प्याकको रुपमा सन् २०१५ अगस्ट ३१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट सार्वजनिक गरेको हो ! कुल सात काण्डमध्ये बालकाण्डमा १-१३०, अयोध्याकाण्डमा १३१-२४०, अरण्यकाण्डमा २४१-२६४, किष्किन्धाकाण्डमा २६५-२७७, सुन्दरकाण्डमा २७८-३००, लंकाकाण्डमा ३०१-३५२ र उत्तरकाण्डमा ३५३-४०८ वटा गरेर यसमा जम्मा ४०८ वटा अडियो ट्रयाकहरु रहेका छन् ! 

Friday, August 25, 2017

ऋषिगोत्र-विचार

‘ऋषि’ अर्थात् ज्ञानसम्पन्न व्यक्ति; ज्ञान भनेको श्रुति, श्रुति भनेको वेद हो, वेद भनेको स्वयं नारायण हो (वेदो नारायणः साक्षात्) । जो वेदज्ञ वा नारायणलाई जान्नेवाला छ, त्यो नै ‘ऋषि’ हो । ‘दृशिर् प्रेक्षणे’ धातुबाट ऋषि शब्दको निष्पत्ति भएको हो । ‘दृशि’ बाट दकार लोप हुँदा ऋषि शब्द बन्छ । यसको अर्थ हो ‘द्रष्टा’ अर्थात् तपस्याद्वारा वेदमन्त्रको साक्षात्कार गर्नेवाला । ‘ऋषिर्दर्शनात्’ अर्थात् सत्यको तपस्या गरेर आफ्नो ज्ञानात्मिका शक्तिद्वारा वैदिक मन्त्र (वेदका ऋचा) को जसले परोक्ष दर्शन गरे, तिनीहरु नै ऋषि कहलाए । त्यसैले ऋषिहरुलाई मन्त्रद्रष्टा (ऋषयो मन्त्रद्रष्टारः) भनिन्छ । ऋषन्ति प्राप्नुवन्ति तपसा वेदमन्त्रान् इति ऋषयः’ – तिरोहित भएका वेदका मन्त्रहरुलाई तपस्यद्वारा आविर्भाव गर्नेवाला नै ऋषि हो । महाभारतको तलको श्लोकले पनि यहि अर्थलाई समर्थन गरेको छ - युगान्तेऽन्तर्हितान् वेदान् सेतिहासान् महर्षयः  तपसा लेभिरे पूर्वमनुज्ञाताः स्वयम्भुवा ॥‘ युगौंदेखि लुकेको वेदहरु र इतिहासहरु जुन छन् तिनलाई तपस्याद्वारा जसले ज्ञान गरे, प्राप्त गरे तिनै ऋषि हुन् । जुन वेदमन्त्रको दर्शन जुन ऋषिले गरे, त्यो वेदमन्त्रको ऋषिको रुपमा तिनै स्थापित भए । ब्रह्मा (स्वयम्भू) को मानसी संकल्पद्वारा शक्तिसामर्थ्य, तप, स्वाध्याय, अध्यात्म, ज्ञानादि सबै गुणले ब्रह्मासमान प्रादुर्भाव भएका भृगु, अंगिरा, मरीचि, अत्रि तथा वसिष्ठादि अनेक ऋषिहरुले वेदमन्त्रको द्रष्टा बनेर सृष्टिवर्धनमा योगदान दिएका छन् । यिनै ऋषिहरु स्वायाम्भुवादि मन्वन्तरहरुमा पालैपालो सप्तर्षिको नामले परिगणित भएर प्राणीमात्रको कल्याण गर्ने काम गर्दै आइरहेका छन् । जुन वेदमन्त्रको दर्शन जुन ऋषिले गरे, त्यो वेदमन्त्रको ऋषिको रुपमा तिनै स्थापित भए । यिनै मन्त्रद्रष्टा ऋषिबाट एवं यिनैका मन्त्रद्रष्टा सन्ततिहरुबाट वर्णाश्रमधर्म-व्यवस्थालाई सुरक्षित राख्न गोत्र, गण र प्रवरको पनि व्यवस्था सुरुभएको हो ।
गोत्र-प्रवर-गण :- हाम्रो श्रुतिस्मृतिहरुमा ‘गोत्र’ शब्दको व्यापक अर्थ बताइएको छ । एक अर्थमा ‘गो’ भनेको पृथ्वी र ‘त्र’ भनेको रक्षागर्नेवाला अर्थात् जगतको रक्षा तथा कल्याण गर्ने ‘गौपालक’ । त्यस्तै ‘गो’ लाई इन्द्रिय मानेर इन्द्रियको आघातबाट रक्षागर्ने अर्थमा पनि गोत्र शब्द बनेको छ । ऋग्वेदमा सहस्र गाईहरुका सेवक ऋषिहरुलाई अग्निदेवले मन्त्रद्रष्टा पुत्र दिएको प्रसङ्ग आउँछ - अग्निर्ऋषिं यः सहस्रा सनोति (१०/८०/४) । त्यस्तै पौराणिक कथाहरुमा ‘एकपटक सृष्टिमा संकट परेको बेलामा रक्षाको लागि गौरुप लिएकी पृथ्वीको ऋषिहरुले दोहन गरेका थिए ।‘ भन्ने प्रसङ्ग पनि छ । त्यसो हुनाले ‘गो’ अर्थात् पृथ्वी वा गाई जे भनेपनि ऋषिहरुले पालन तथा रक्षा गर्ने गरेको इतिहासले गौरक्षक ऋषिका सन्ततिहरुलाई गोत्रको नामले चिनिन थालिएको स्पष्ट हुन्छ । गोत्रको पर्याय अर्थको रुपमा पक्ष, कुल, वंश र वर्ग आदि पर्दछन् । व्यवहारिक रुपमा हेर्दाखेरि पनि गोत्रको आशय पहिचानसँग जोडिएको हुन्छ । जसानुसार प्रत्येक मनुष्यको सम्बन्ध अमुक ऋषिको कुलसँग छ भन्ने थाहा हुन्छ । गोत्रको नामाकरण ऋषिको नामसँग विशेषण जोडिएर हुन्छ । जस्तै :- गर्गको गार्ग्य, कश्यपको काश्यप, वसिष्ठको वाशिष्ठ, विश्वामित्रको वैश्वामित्र तथा अत्रिको आत्रेय । अपत्यं पौत्रप्रभृति गोत्रम्’ व्याकरणको यो सूत्रले पनि सोहि अर्थलाई प्रष्ट गर्दै पुत्रपौत्रादिबाट गोत्र हुन्छ भनेको छ । त्यस्तै प्रवर र गणमा पनि उच्चारण गर्दा ऋषिको नाम विशेषण हुन्छ । जस्तै :- आत्रेय गोत्रको प्रवर ऋषि अत्रि, अर्चनानस र श्यावाश्व हुन् र उच्चारण गर्दा आत्रेय, आर्चनानस र श्यावाश्व हुनुपर्छ ।
गोत्र के कति छ भन्ने सन्दर्भमा विभिन्न धर्मशास्त्रहरुले प्रमुख ८ गोत्रको चर्चा गरेको पाइन्छ । सप्तानामृषीणामगस्त्याष्टानां पक्षा भवन्ति वा यदपत्यं तद्गोत्रमित्युच्यते - अत्रि, वसिष्ठ (मित्रावरुणवंश्य), विश्वामित्र (गायत्रीमन्त्रद्रष्टा कुशिकवंश्य), जमदग्नि (भृगुवंश्य), गौतम र भरद्वाज (अंगिरावंश्य), कश्यप अगस्त्य (मरीचि वंश्य) ऋषिका अपत्य (सन्तति)बाट ८ वटा गोत्रको सुरुवात भयो । यसबाहेक ब्रह्मापुत्र भृगु, अंगिरा र मरीचि पनि गोत्रकार ऋषिहरु हुन् । क्रतु, पुलस्त्य र पुलहले अगस्त्यका सन्तानलाई धर्मपुत्र बनाएर पनि आफ्नो गोत्र चलाएको देखिन्छ । अगस्त्य वसिष्ठका अनुज पनि हुन् । गोत्राणां तु सहस्राणि प्रयुतान्यर्बुदानि च ऊनपञ्चाशदेवैषां प्रवरा ऋषिदर्शनात् ॥ बौधायनोक्त यो श्लोकले पनि गोत्रहरु हजारौं छन् तर तिनको प्रमुख प्रवरभेद ४९ वटा मात्र छन् भनेर दर्शाएको छ ।
‘प्रवर’ भन्नाले गोत्रकार ऋषिहरुको सुयोग्य मन्त्रद्रष्टा सन्तति हुन् । वैदिक परम्परानुसार राजा-महाराजाहरुको विशिष्ट यज्ञानुष्ठानमा जुन ३ ऋषिहरुलाई वरण गरेर राखिन्छ; तिनलाई नै प्रवर भनिन्छ । निम्न श्लोकले पनि यहि कुरा पुष्टि गर्दछ - गोत्र भूतस्य पितृपितामहप्रपितामहाः एव प्रवराः पितै वाग्रेऽथ पुत्रोऽथ पौत्र इति (शतपथ ब्राह्मण) । अपत्यक्रमेण सादृश्यसम्बन्धेन वा प्रकर्षेण वरणानि प्रार्थनानि प्रवराः’- त्यसैले प्रकर्ष (उत्तमता) का साथ ऋषिकुलका पितापितामहप्रपितामहानुसार क्रमैले वरण जसलाई गरिन्छ ति प्रवर हुन्छन् । प्रवरस्तु गोत्रव्यावर्तक ऋषि विशेष एव’ (संस्कारदीपक), ‘प्रवियन्ते होत्रध्वर्युभ्यामुत्कीर्त्यन्ते इति प्रवराः’ (सत्कर्मरत्नावली) अनुसार गोत्रकार ऋषिहरुका व्यावर्तक अर्थात् मूलवंश छुट्याउने ऋषिविशेष तथा यज्ञादिहरुमा होता र अध्वर्युद्वारा प्रार्थनापूर्वक वरण गरिने विशिष्ट ऋषि नै प्रवर हुन् भन्ने अर्थ स्पष्ट हुन्छ । त्यस्तै परिकरको अर्थमा पनि प्रवरको प्रयोग हुन्छ ।
यसरी उल्लिखित मुख्य गोत्रमा कसैको ३ प्रवर, कसैको ५ प्रवर ऋषिहरुबाट पनि अनेक ऋषिसन्तानहरु वृद्धि हुँदै गएर हजारौं गोत्र हुन थालेपछि मूल ऋषिबाट वंश छुट्याउनको लागि ऋषिपरिवारको रूपमा गणको व्यवस्था भयो, जसलाई गोत्रभेद वा प्रवरभेद पनि भनिन्छ । यसरि प्रवर तथा गणले नै मूल गोत्रलाई समेटेको देखिन्छ । गण वा प्रवरभेदानुसार भृगुगण ७, आङ्गिरसगण १७, अत्रिगण ४, विश्वामित्रगण १०, कश्यपगण ३, वसिष्ठगण ४ र अगस्तिगण ४ गरेर जम्मा ४९ वटा गणभित्र बाँधिएका हजारौं गोत्रहरु छन् । यिनै गणभित्र पुराणहरुका ८८ हजार, ऋग्वेदादिका अनेकौं मन्त्रद्रष्टा ऋषिहरु पर्दछन् । जातिगत व्यवस्था चलेसँगै प्रायजसो ऋषि परम्परानुसारको गोत्रहरु ब्राह्मणमा मात्र सीमित छन् भने क्षत्रियहरुमा तथा अन्य जातिहरुमा कर्मक्षेत्रसँग सम्बन्धित गोत्रहरु चलेका छन् । त्यस्तै अर्काको गोत्र अङ्गिकार गर्ने गरेको इतिहास पनि सुन्नमा आउँछ । राजाले आफ्ना पुरोहितको, जनताहरुले आफ्ना राजाको, शिष्यहरुले आफ्ना गुरुको, नोकरहरुले मालिकको तथा कसैले निकटतम ऋषि आश्रमसँग एवं कतिले त जनावर, ठाऊँ, नदी र आफ्नादेवदेवीसँग सम्बन्धित गोत्रहरु अपनाएका पनि पाइन्छन् । यसरी समग्रमा हेर्दा प्रमुख ऋषिहरुबाट वर्तमान समयसम्म आउँदा हजारौंको संख्यामा गोत्रहरु विद्यमान रहेका छन् ।
अर्याल केशवशरण ‘आर्यकेश’ भरतपुर-४, शिवघाट (अर्याल बन्धु समाज, चितवनको अबस स्मारिका २०७४ मा प्रकाशित) 

>> अत्रि ऋषि र आत्रेय गोत्रको चर्चा <<